News
•
⏱ 11 min read
•
📅 October 8, 2026
प्रेस बक्तब्य: नेपाली व्यावसायिक नेतृत्व तथा न्युजिल्यान्डका दुई ठूला राजनीतिक दलका बिच उच्चस्तरीय बैठक सम्पन्न
N
NZNCC Team
NZ Nepal Chamber of Commerce
२२ असोज २०८३, बिहिवार तदनुसार ८ अक्टोबर २०२६, अकल्यान्ड, न्युजिल्यान्ड
न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सको कार्यकारी टोलीका अगुवाहरूले न्युजिल्यान्ड नेसनल पार्टी र न्युजिल्यान्ड लेबर पार्टीका पूर्व मन्त्रीहरूसँग भेटघाट गरेका छन्। न्युजिल्यान्ड नेसनल पार्टी हालको सत्ताधारी दल हो भने लेबर न्युजिल्यान्ड हालको मुख्य विपक्षी दल हो।
नेसनल र लेबर न्युजिल्यान्डका दुई ठूला राजनीतिक दलहरू हुन्। आगामी ७ नोभेम्बर २०२६ मा हुन गइरहेको न्युजिल्यान्डको आम निर्वाचनको ठिक अगाडि दुवै ठूला दलका मुख्य नीतिहरूमाथि छलफल गर्न योजना गरिएका दुई बैठक अर्थपूर्ण रहेको छ।
७ अक्टोबर २०२६ मा न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अगुवाहरूले अकल्यान्डको इप्समस्थित कार्यालयमा माननीय मेलिसा लीसँग उच्चस्तरीय छलफल गरे। माननीय ली न्युजिल्यान्ड संसदकी वर्तमान सदस्य हुनुहुन्छ। उहाँले आर्थिक विकास मन्त्री, जातीय समुदाय मन्त्री, र मिडिया तथा सञ्चार मन्त्रीको रूपमा सेवा गरिसक्नुभएको छ। माननीय ली सन् २००८ देखि न्युजिल्यान्ड संसदको सदस्य रहँदै आउनुभएको छ।
८ अक्टोबर २०२६ मा, सेन्ट्रल अकल्यान्डमा माननीय फिल ट्वाइफोर्डसँग अर्को उच्चस्तरीय बैठक सम्पन्न भयो। माननीय ट्वाइफोर्ड न्युजिल्यान्ड लेबर पार्टीका वरिष्ठ नेता हुनुहुन्छ। उहाँ पश्चिम अकल्यान्डमा रहेको निर्वाचन क्षेत्र 'ते अतातू' का सांसद हुनुहुन्छ। माननीय ट्वाइफोर्डले अघिल्लो मन्त्रिमण्डलहरुमा यातायात, आवास तथा सहरी विकास, आर्थिक विकास, सह-वाणिज्य, र निशस्त्रीकरण तथा हतियार नियन्त्रण मन्त्रालयहरु सम्हाली सक्नु भएको छ। । उहाँ न्युजिल्यान्ड लेबर पार्टीका अध्यागमन प्रवक्ता हुनुहुन्छ। माननीय ट्वाइफोर्ड सन् २००८ देखि न्युजिल्यान्ड संसदको सदस्य हुनुहुन्छ।
दुवै बैठकहरूमा व्यापार तथा व्यवसाय, परराष्ट्र, अध्यागमन र शिक्षा मुख्य कार्यसूचीका रूपमा रहेका थिए। छलफल विशेष गरी आगामी निर्वाचनमा ती महत्त्वपूर्ण विषयहरूमा दलहरूका नीतिहरूमा केन्द्रित थियो। नेपाल र न्युजिल्यान्डबीच सरकार-देखि-सरकार (जीटूजी) र व्यवसाय-देखि-व्यवसाय (बीटूबी) द्विपक्षीय आर्थिक सहयोगका सम्भावित क्षेत्रहरू पहिचान गरिएका थिए। अध्यागमनतर्फ, नेपालबाट न्युजिल्यान्ड आउने दक्ष आप्रवासीहरूका विषयमा छलफल केन्द्रित भयो। शिक्षा क्षेत्रमा भने न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्स, एजुकेसन न्युजिल्यान्ड र न्युजिल्यान्डको शिक्षा मन्त्रालयबीच सहकार्यका सम्भावित क्षेत्रहरू पहिल्याइयो।
दुवै पूर्वमन्त्रीहरूले उच्चस्तरीय भेटघाटमा छलफल भएका मुख्य विषयहरूमा न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्स ले नेतृत्व गरेका प्रयासहरूलाई सफल बनाउन ऐक्यबद्धता जनाए। आगामी महिना हुने आम निर्वाचनको परिणाम जस्तो सुकै आए तापनि नेताहरूले भविष्यमा न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्य लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राज महर्जनले विगत तीन वर्षदेखि न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सले नेपाल र न्युजिल्यान्डबीचको द्विपक्षीय सम्बन्धको भाष्य परिवर्तन गर्न योजनाबद्ध प्रयास गरिरहेको बताए। 'दुई देशबीचको द्विपक्षीय सहयोगलाई मानवीय सहायता र सहयोगको साँघुरो घेराभित्र मात्र सीमित राख्नुको सट्टा, न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सले दुई राष्ट्रबीच व्यापार र व्यवसायका क्षेत्रमा नयाँ दिशा पहिल्याउन न्युजिल्यान्डका सरोकारवालाहरूसँग दृढताका साथ वकालत गरिरहेको छ', उनले भने।
न्युजिल्यान्डमा बसोबास गर्ने बहुसंख्यक नेपाली समुदायका लागि विशेष सरोकार रहेका महत्त्वपूर्ण मुद्दाहरूमा न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सले न्युजिल्यान्डका व्यावसायिक तथा सरकारी दुवै पक्षका बृहत्तर सरोकारवालाहरूसँग संवाद जारी राखेको छ। यसै हप्ता आयोजित दुईवटा मन्त्रीस्तरीय बैठकहरू न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सद्वारा निरन्तर पहलकदमी गरिंदै आइएका यस्तै उच्चस्तरीय प्रयासका उदाहरण हुन्। श्री महर्जनले अगाडि थपे, 'आर्थिक कूटनीतिका सिद्धान्तहरूबाट निर्देशित हुँदै नेपाल र न्युजिल्यान्डबीचको द्विपक्षीय आर्थिक सम्बन्धलाई थप प्रवर्द्धन गर्न न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सले न्युजिल्यान्डको सरकारी र निजी दुवै क्षेत्रको उच्च तहमा आफ्नो संवादलाई निरन्तरता दिनेछ।'
यो संलग्नतामा न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्स टोलीको प्रतिनिधित्व अध्यक्ष श्री राज महर्जन, उपाध्यक्ष श्री रोनित श्रेष्ठ, कार्यकारी सदस्य श्रीमती आरती गिरी र कार्यकारी सदस्य श्री प्रबिन योन्जनले गर्नुभएको थियो।