Chamber News
•
⏱ 11 min read
•
📅 October 3, 2026
न्युजिल्याण्ड नेपाल चेम्बर अफ कमर्सद्वारा अकल्याण्डमा ‘बिजनेस कनेक्ट’ कार्यक्रम सम्पन्न
N
NZNCC
NZ Nepal Chamber of Commerce Contributor
अकल्याण्ड — न्युजिल्याण्डमा व्यवसाय सञ्चालन गरिरहेका तथा नयाँ व्यवसाय सुरु गर्न वा आफ्नो व्यवसाय विस्तार गर्न चाहने नेपाली व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै न्युजिल्याण्ड नेपाल चेम्बर अफ कमर्सले अकल्याण्डमा ‘बिजनेस कनेक्ट’ कार्यक्रम आयोजना गरेको छ।
व्यवसाय सञ्चालनका क्रममा देखिने व्यावहारिक चुनौती, व्यवसाय विस्तारका सम्भावना तथा आप्रवासी कामदारलाई रोजगारीमा राख्दा पालना गर्नुपर्ने कानुनी तथा आप्रवासनसम्बन्धी प्रक्रियाबारे कार्यक्रममा छलफल गरिएको थियो। नेपाली व्यवसायी तथा उद्यमीबीच अनुभव, जानकारी र विचार आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले आफ्ना व्यवसायसँग सम्बन्धित विषयमा खुलेर आफ्ना भनाइ राखेका थिए।
कार्यक्रमकी मुख्य वक्ता तथा लाइसेन्स प्राप्त न्युजिल्याण्ड इमिग्रेसन सल्लाहकार एवं ह्वाइट क्लाउड इमिग्रेसन एन्ड एजुकेसन सर्भिसेसकी निर्देशक आरती गिरीले न्युजिल्याण्डमा व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने विभिन्न कानुनी तथा आप्रवासनसम्बन्धी प्रावधानबारे जानकारी गराएकी थिइन्।
विशेषगरी विदेशी कामदारलाई रोजगारीमा राख्दा व्यवसायी तथा रोजगारदाताले ध्यान दिनुपर्ने विभिन्न पक्षबारे उनले सहभागीलाई जानकारी गराइन्। आप्रवासी कामदारलाई रोजगारीमा राख्ने क्रममा भिसाको अवस्था, रोजगारीसँग सम्बन्धित दायित्व तथा आप्रवासनसम्बन्धी नियमको पालना अत्यन्त महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
गिरीले सामान्य देखिने कमजोरी वा प्रक्रियागत त्रुटिका कारण पनि भिसा आवेदनमा समस्या आउन सक्ने तथा कतिपय अवस्थामा व्यवसायी वा रोजगारदाताबाट भएका कमजोरीका कारण भिसासम्बन्धी जटिलता उत्पन्न हुन सक्ने बताइन्। त्यसैले कुनै कामदारलाई रोजगारीमा राख्नुअघि वा नयाँ व्यवसाय सुरु गर्नुअघि सम्बन्धित कानुनी तथा आप्रवासनसम्बन्धी विषयमा आवश्यक जानकारी लिनुपर्नेमा उनले जोड दिइन्।
उनका अनुसार आप्रवासी कामदारलाई रोजगारीमा राख्नु केवल कर्मचारी नियुक्त गर्ने विषय मात्र नभई रोजगारदाता र व्यवसायीले पूरा गर्नुपर्ने विभिन्न कानुनी दायित्वसँग पनि जोडिएको विषय हो। त्यसैले भिसाको अवस्था, रोजगारीका सर्त र सम्बन्धित नियमबारे पर्याप्त जानकारी लिएर मात्र प्रक्रिया अघि बढाउन उनले व्यवसायीलाई आग्रह गरिन्।
कार्यक्रममा न्युजिल्याण्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज महर्जन, उपाध्यक्ष एवं ग्रेस इन्टरनेसनल न्युजिल्याण्डकी निर्देशक मन्दिरा (म्यान्डी) रिमाललगायतका वक्ताहरूले आफ्ना भनाइ राखेका थिए।
चेम्बरका अध्यक्ष राज महर्जनले नेपाली व्यवसायी तथा उद्यमीबीच सहकार्य, समन्वय र अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। व्यवसाय सञ्चालन तथा विस्तारका क्रममा देखिएका समस्या र सम्भावनाबारे खुलेर छलफल गर्दै एकअर्काबाट सिकेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी व्यवसायीहरूले आफ्ना व्यवसाय सञ्चालनका अनुभव, चुनौती तथा आगामी योजनाबारे पनि विचार राखेका थिए। नयाँ व्यवसाय सुरु गर्न लागेका तथा व्यवसाय विस्तार गर्ने तयारीमा रहेका सहभागीहरूले आफूले सामना गरेका व्यावहारिक समस्या र आवश्यक सहयोगका विषयमा समेत छलफल गरेका थिए।
व्यवसायीहरूबीच प्रत्यक्ष सम्पर्क र सहकार्यको वातावरण निर्माण गर्नु ‘बिजनेस कनेक्ट’को महत्वपूर्ण उद्देश्य रहेको आयोजकको भनाइ थियो। कार्यक्रममार्फत नेपाली समुदायभित्र रहेका व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिबीच व्यावसायिक सम्बन्ध विस्तार गर्न तथा अनुभव र जानकारी साझा गर्न अवसर मिलेको सहभागीहरूले बताएका थिए।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले न्युजिल्याण्डमा नेपाली समुदायको व्यवसायिक उपस्थिति विस्तार हुँदै गएको अवस्थामा आपसी सहकार्य र सूचना आदानप्रदानलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। नयाँ व्यवसाय सुरु गर्नेहरूलाई अनुभवी व्यवसायीबाट सिक्ने अवसर तथा स्थापित व्यवसायीलाई नयाँ सम्भावनाबारे छलफल गर्ने वातावरण यस्ता कार्यक्रमले प्रदान गर्ने उनीहरूको भनाइ थियो।
न्युजिल्याण्ड नेपाल चेम्बर अफ कमर्सले नेपाली व्यवसायी तथा उद्यमीलाई एउटै सञ्जालमा जोड्दै व्यावसायिक सहकार्य र सम्बन्ध विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। ‘बिजनेस कनेक्ट’ पनि व्यवसायीबीच प्रत्यक्ष संवाद, अनुभव आदानप्रदान र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यमा केन्द्रित कार्यक्रममध्ये एक हो।
समाचार साभार: himalpari.com